काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको संरक्षण र पार्टीको रूपान्तरणका लागि युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
उनले लोकतान्त्रिक आन्दोलनमा तरुण युवाले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य र मान्यताको रक्षामा सक्रिय हुन आग्रह गरेका छन्।नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा तरुण दल तनहुँले दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले तरुण दललाई नेपाली कांग्रेसको महत्त्वपूर्ण सङ्गठनका रूपमा व्याख्या गरे।उनका अनुसार लोकतन्त्र सङ्कटमा परेका विभिन्न समयमा युवाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। अब लोकतन्त्रको सुदृढीकरणसँगै पार्टी सङ्गठनलाई प्रभावकारी बनाउन पनि युवाहरूले आफ्नो भूमिका विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
महामन्त्री पौडेलले कांग्रेसको सङ्गठन विस्तारमा मात्र सीमित नभई नयाँ विचार, सिर्जनात्मक योजना र कार्यक्रममार्फत जनतासँग जोडिन तरुण युवालाई आग्रह गरे। पार्टीमा भइरहेका सुधार र सकारात्मक परिवर्तनबारे जनतालाई जानकारी गराउन सके कांग्रेसप्रतिको विश्वास थप मजबुत बनाउन सहयोग पुग्ने उनले बताए।कांग्रेसले युवा पुस्तालाई महत्त्व दिँदै आएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र युवाको प्रतिनिधित्व बढ्दै गएको पनि बताए। लोकतान्त्रिक आदर्शको संरक्षण र पार्टीलाई समयअनुकूल बनाउने अभियानमा युवाहरूको योगदान आवश्यक रहेको उनले जोड दिए।
कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य चिनु पोख्रेलले पार्टीभित्र एकता कायम राख्नुपर्ने धारणा राखिन्। त्यसैगरी केन्द्रीय सदस्य जगदीशचन्द्र पोख्रेल, दीपक भट्टराईलगायतले तरुण दलको भूमिका र पार्टी सङ्गठनलाई सुदृढ बनाउने विषयमा विचार व्यक्त गरेका थिए।