काठमाडौं । काठमाडौंको थानकोटबाट प्रहरीले बरामद गरेको चाँदीको परिमाण ६९ किलो रहेको पुष्टि भएको छ।
भन्सार छली गरी ल्याइएको चाँदीसहित पक्राउ परेका भारतीय नागरिक अमन सर्राफमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार थानकोटबाट चाँदी बरामद गर्दै सर्राफलाई नियन्त्रणमा लिएको थियो। बरामद चाँदीको आवश्यक प्रक्रिया पूरा गरी तौल गर्दा ६९ किलो पुगेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन्।
प्रहरीका अनुसार बरामद चाँदीको बजार मूल्य करिब २ करोड ३६ लाख ३२ हजार रुपैयाँ रहेको छ। यसअघि चाँदीको परिमाण करिब ६० किलो हुन सक्ने अनुमान गरिएको थियो।बिहारको रक्सौल घर भएका सर्राफले थानकोटमा सुनचाँदी पसल सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले मोटरसाइकलमा लुकाउने संरचना बनाएर चाँदी ओसारपसार गर्ने गरेको आशंका गरेको छ।
यसअघि उनका बुवा रमेश कुमार साह र आमा चन्दा सोनीलाई मकवानपुर प्रहरीले हेटौँडाबाट १४ किलो चाँदीसहित पक्राउ गरेको थियो। त्यसपछि अमनमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनको पसल र डेरामा खानतलासी गर्दा थप चाँदी फेला परेको थियो।प्रहरीले बरामद चाँदी र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाउने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।