काठमाडौं । झापामा गत असोज महिनामा भएका विभिन्न २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ।
आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनाले ठूलो आर्थिक नोक्सानी पुर्याउनुका साथै मानवीय सुरक्षामा समेत जोखिम बढाएको छ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा सबैभन्दा बढी क्षति आगलागीका घटनाबाट भएको हो। जिल्लाका विभिन्न स्थानमा आगलागीका १२ घटना हुँदा एक जना घाइते भएका छन्। ती घटनाबाट १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
यसैगरी, असोज महिनामा जङ्गली जनावरको आक्रमणका नौ घटना भएका छन्। ती घटनाबाट तीन लाख ८९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ। जङ्गली जनावरको आक्रमण तथा जोखिममा परेका चार जनाको उद्धारसमेत गरिएको जनाइएको छ। त्यस्तै, चट्याङका कारण एउटा घटना हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको छ।
विपद्का घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ। आगलागीबाट बच्न विद्युतीय उपकरण र आगोको प्रयोग गर्दा सतर्क रहन तथा वन र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई जङ्गली जनावरबाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।