काठमाडौं ।कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित घिप्लेमा २२ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्।
स्थानीय राजेन्द्र पौडेल घरको पूर्वतर्फ रहेको बारीमा मृत भेटिएका हुन्।घटनाबारे जानकारी पाएपछि धम्पुस प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा युवकको हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकाहरूमा माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक, ३८ वर्षीय ललित पुन तथा माछापुच्छ्रे गाउँपालिका–५ रिभानका ५७ वर्षीय विष्णुप्रसाद गुरुङ रहेका छन्।
प्रहरीका अनुसार घटनाअघि उनीहरूबीच सँगै मदिरा सेवन गर्ने क्रममा विवाद भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। विवाद बढ्दै जाँदा हातपातसमेत भएको हुन सक्ने प्रहरीको भनाइ छ।घटनाको गम्भीरता र सम्भावित संलग्नताबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको छ। वडा प्रहरी कार्यालय बगरबाट पनि प्रहरी निरीक्षकको टोली खटिएको छ।घटनामा कसको संलग्नता छ र युवकको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।