काठमाडौँ । सुनसरीको इटहरीमा जुवातास खेलिरहेको आरोपमा आठ जना पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट ४ लाख ५६ हजार रुपैयाँ नगद र तास बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–४ स्थित शान्तिचोकको द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले घटनास्थलबाट मोहन घिमिरे, मनोज राई, ईश्वर कार्की, टीकाराम गेलाल, जीवन अधिकारी, युवराज मगर, दुर्गाप्रसाद थापा र खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ परेकाहरूको साथबाट ४ लाख ५६ हजार रुपैयाँ नगदका साथै जुवाखालमा प्रयोग भएको सात बुङ तास बरामद गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।