काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार राति करिब ११ बजेर २० मिनेटमा बा ९० प ३३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा चिप्लिएर दुर्घटना भएको हो। मोटरसाइकल रौतहट घर भई हाल काठमाडौँ महानगरपालिका–६ तिनचुली बस्दै आएका १८ वर्षीय मोहन ठाकुरले चलाएका थिए। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भई तिनचुलीमै बस्दै आएका १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ।
दुर्घटनापछि उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्याइएका जसिमलाई चिकित्सकले मृत घोषणा गरेका थिए। गम्भीर घाइते चालक ठाकुरको सोही अस्पतालमा उपचार भइरहेको थियो। थप उपचारका लागि उनलाई सोमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जनाइएको छ।