काठमाडौं । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसर, भद्रकालीको टोलीले भट्टलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले पुष्टि गरेका छन्। उनका अनुसार भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यस प्रकरणमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र इनाम सपकोटासँग जोडिएका घटनाक्रमसमेत अनुसन्धानको दायरामा आएका छन्।
जबरालाई सुरक्षाका लागि भन्दै प्रहरी कार्यालय ल्याएर सुरु गरिएको अनुसन्धान क्रमशः सपकोटासम्म पुगेको थियो। प्रहरी अधिकारीहरूको आशंकाअनुसार जेलमा रहेका दीपक भट्टलाई छुटाउने प्रयासका क्रममा सुशील भट्टले सपकोटासँग कुराकानी गरेका थिए। सपकोटाले जबरामार्फत उनलाई छुटाउने वातावरण बनाउन खोजेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, घटनामा संलग्न व्यक्तिहरूको भूमिका र आरोपको वास्तविकता अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।