काठमाडाैँ । दक्षिण कोरियासँगको सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोट भएपछि दुई देशबीच तनाव चुलिएका बेला उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।
दक्षिण कोरियाली सेनाका अनुसार सोमबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट जापानको सागरको दिशामा कैयौँ मिसाइल प्रक्षेपण गरेको हो। दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफका अनुसार स्थानीय समयअनुसार बिहान ९ः२० बजे प्योङयाङ क्षेत्रबाट प्रक्षेपण गरिएका केही मिसाइलले ९०० किलोमिटरभन्दा बढी दूरी पार गरेका थिए। दक्षिण कोरिया र अमेरिकाले ती मिसाइलको प्रकृति तथा क्षमताबारे अध्ययन गरिरहेका छन्। जापानले पनि कम्तीमा एउटा शङ्कास्पद ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको पुष्टि गरेको छ। घटनापछि दक्षिण कोरियाले आकस्मिक सुरक्षा बैठक बोलाएर सैन्य तयारीको समीक्षा गरेको छ।
यसअघि असैन्यीकृत क्षेत्र (डिएमजेड) मा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएका थिए। दक्षिण कोरिया र संयुक्त राष्ट्रसङ्घको संयुक्त अनुसन्धानले उक्त क्षेत्रमा उत्तर कोरियाले गत वर्ष बारुदी सुरुङ बिछ्याएको निष्कर्ष निकालेको थियो। तर प्योङयाङले उक्त आरोप अस्वीकार गर्दै आएको छ। यसैबीच, उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाले माफी माग्नुपर्ने माग अस्वीकार गरेको भन्दै सियोलको आलोचना गरेकी छन्। दक्षिण कोरियाबाट चिकित्सा उपकरण सहयोग गर्ने प्रस्तावसमेत उनले अस्वीकार गरेकी थिइन्। उत्तर कोरियाले अक्टोबर ३ मा पनि मध्यम दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। उक्त मिसाइलमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि प्रयोग गरिएको र कम उचाइमा उड्दा आफ्नो मार्ग परिवर्तन गर्न सक्ने क्षमता रहेको किम यो जोङले दाबी गरेकी थिइन्।
त्यसको केही दिनपछि दक्षिण कोरियाले स्वदेशमै विकसित हाइपरसोनिक ग्लाइड भेहिकलको सफल परीक्षण गरेको जनाएको थियो। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता हुन सक्ने सङ्केत दिएपछि सम्भावित आणविक वार्तामा दक्षिण कोरिया ओझेलमा पर्न सक्ने चिन्ता पनि बढेको छ। ट्रम्पको भेटसम्बन्धी प्रस्ताव आएको भोलिपल्ट उत्तर कोरियाले छोटो दूरीका कैयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। किम यो जोङले दुई कोरियाबीच सम्बन्ध सुधार गर्न दक्षिण कोरियाले उत्तरप्रति सम्मान र इमानदारी देखाउनुपर्ने बताएकी छन्। सन् १९५३ मा कोरियाली युद्ध औपचारिक शान्ति सन्धिबिना युद्धविराममा टुङ्गिएकाले दुवै देश प्राविधिक रूपमा अझै युद्धको अवस्थामा छन्। सीमाक्षेत्रमा भइरहेका यस्ता घटना र लगातारका हतियार परीक्षणले कोरियाली प्रायद्वीपमा तनाव थप बढाउने जोखिम देखिएको छ।