काठमाडौं । बडादसैँलगायत चाडपर्वलाई सुरक्षित र मर्यादित रूपमा मनाउन गण्डकी प्रदेश प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। चाडपर्वका बेला चोरी, ठगी, लुटपाट तथा सडक दुर्घटनाजस्ता घटना बढ्न सक्ने भन्दै प्रहरीले सुरक्षा सतर्कता अपनाउन अपिल गरेको हो।
‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित प्रहरीले घरबाहिर जाँदा तथा सार्वजनिक स्थानमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले घर छाडेर बाहिर निस्कँदा झ्यालढोका राम्रोसँग बन्द गर्न, सम्भव भएसम्म छिमेकीलाई घरको निगरानी गर्न आग्रह गर्न तथा सीसीटीभी र आपत्कालीन साइरनजस्ता सुरक्षा उपाय अपनाउन सुझाव दिएको छ। रातको समयमा घरबाहिर बत्ती बाल्न र आगलागी हुन सक्ने स्रोतहरू सुरक्षित रूपमा व्यवस्थापन गर्न पनि प्रहरीले सचेत गराएको छ।
त्यस्तै, मेला, बजार तथा भीडभाड हुने स्थानमा मोबाइल, गरगहना र नगद चोरी हुन सक्ने भएकाले आफ्ना सामानको सुरक्षा गर्न प्रहरीले आग्रह गरेको छ। बैंकको चेक, एटीएम कार्ड तथा ओटीपी कोड अरूलाई नदिन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र सुन तथा विदेशी मुद्रा साट्ने नाममा हुने ठगीबाट जोगिन पनि अनुरोध गरिएको छ।
प्रहरीले चाडपर्वका नाममा जुवा तथा तास खेल्ने, पटका र आतिसबाजी प्रयोग गर्ने, चर्को आवाजमा लाउडस्पिकर बजाउने तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेजस्ता गतिविधि नगर्नसमेत सचेत गराएको छ। क्षमताभन्दा बढी यात्रु तथा सामान नबोक्न र होहल्ला, झैझगडा तथा जबर्जस्ती रकम असुलीजस्ता गतिविधिबाट टाढा रहन पनि आग्रह गरिएको छ। कुनै समस्या वा आपत्कालीन अवस्था आइपरेमा नेपाल प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न सकिने गण्डकी प्रदेश प्रहरीले जनाएको छ।