काठमाडौं ।भारी वर्षापछि आएको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा चीनको कोरलानाका हुँदै नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन मुस्ताङमै रोकिएका छन्।
सडकमा यातायात सञ्चालन हुन थाले पनि अवस्था सहज नबन्दा ती गाडीलाई सम्बन्धित गन्तव्यसम्म पुर्याउन कठिनाइ भइरहेको छ।गत असोज ११ गतेको वर्षापछि सडक प्रभावित बनेको थियो। शुक्रबार साँझदेखि सडक सञ्चालनमा आए पनि ठाउँठाउँमा सडकको अवस्था जोखिमपूर्ण रहेकाले विद्युतीय सवारीसाधनलाई तल झार्न समस्या भइरहेको सम्बन्धित प्रतिनिधिहरूले बताएका छन्।सशस्त्र प्रहरी बलको कोरलास्थित बोर्डर आउट पोस्टका अनुसार लोमान्थाङ–४ न्हेचुङ क्षेत्रको खुला पठार र मुस्ताङ भन्सार यार्डमा दुई हजारभन्दा बढी विद्युतीय गाडी पार्किङ गरेर राखिएका छन्। भन्सार यार्डमा मात्रै दुई सयभन्दा बढी गाडी रहेको सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले जानकारी दिएका छन्।
भन्सार जाँचपासपछि सवारीसाधनलाई सुरक्षित रूपमा तल पठाउन सहजीकरण भइरहेको पनि उनले बताएका छन्।यसैगरी, कोरलानाकाबाट भन्सार प्रक्रिया पूरा गरी जोमसोम ल्याइएका पाँच सयभन्दा बढी विद्युतीय गाडी विभिन्न पार्किङस्थलमा राखिएका छन्। सडकको अवस्था अझै कमजोर रहेकाले ती गाडीलाई गन्तव्यतर्फ लैजान नसकिएको बिवाइडी कम्पनीको खरिदसम्बन्धी काम गर्ने साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले बताएका छन्।
उनका अनुसार असोज ११ गतेअघि बिवाइडीका करिब चार सय ५० वटा गाडी गन्तव्यतर्फ पठाइएको थियो। त्यसपछि नाकाबाट भित्रिएका दुई हजारभन्दा बढी गाडी भने सडकको समस्याका कारण मुस्ताङमै रोकिएका छन्। रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट थप तीन हजारभन्दा बढी विद्युतीय गाडी भित्र्याउने योजना रहेको पनि उनले जानकारी दिएका छन्।यसैबीच, कोरलानाकाबाट आयात गरिएका सामान बोकेका छ सयभन्दा बढी कन्टेनर सोमबारसम्म मुस्ताङबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ। जिल्लामा रोकिएका कन्टेनर बाहिरिन थालेपछि सामान ढुवानीका लागि केही खाली कन्टेनर पुनः कोरलानाकातर्फ उकालो लागेका छन्।सडकको अवस्था पूर्ण रूपमा सहज नहुँदासम्म मुस्ताङमा रोकिएका विद्युतीय सवारीसाधनको ढुवानी प्रभावित हुने देखिएको छ।