काठमाडौं ।मकवानपुरको हेटौँडामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९, एचआइडीका ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बिहीबार बिहान हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिक दुर्घटना भएको हो।पूर्वपश्चिम राजमार्गमा हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना४२प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको ग१ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। तर, उनको ज्यान गएको हो।प्रहरीले दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल नियन्त्रणमा लिनुका साथै ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई पनि नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।