काठमाडौं।धनुषामा सामाजिक सञ्जाल टिकटकमार्फत डरत्रास फैलाउने तथा हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्ने प्रकृतिका भिडियो सार्वजनिक गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१९ निवासी करिब २१ वर्षीय पशुपति पासवान रहेका छन्। उनी ‘काले’ उपनामले चिनिने प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पासवानलाई सोमबार बिहान आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो। टिकटकमा धम्कीपूर्ण र हिंसा फैलाउन सक्ने खालका भिडियो पोस्ट गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले पक्राउ परेका युवकविरुद्ध प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।