काठमाडौं।तनहुँमा सिमेन्ट बोकेर गइरहेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा सोमबार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो।दुर्घटनामा गम्भीर घाइते भएका धादिङको सिद्धलेक गाउँपालिका–६ निवासी करिब ३० वर्षीय चालक सञ्जीव मगरको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।दुर्घटनामा ट्रकका सहचालक २२ वर्षीय प्रदीप विक पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ।प्रहरीका अनुसार सहचालक विकको अवस्था मध्यम रहेको छ र उनी बोल्न सक्ने अवस्थामा छन्। दुर्घटनाको थप विवरणबारे अनुसन्धान भइरहेको छ।