काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी, सहज र सेवाग्राहीमैत्री बनाउने सरकारको प्राथमिकता रहेको बताएकी छन्।
विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा सोमबार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचार खोज्दा अपहेलना र विभेद भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिइन्।मन्त्री मेहताका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। त्यसैका आधारमा आवश्यक कानुन निर्माणको प्रक्रिया अघि बढाइनेछ।उनले मानसिक स्वास्थ्य समस्याको प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म नागरिकको पहुँच सहज बनाउने योजना रहेको पनि बताइन्। साथै, एक सय शय्याभन्दा बढी क्षमताका अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि आवश्यक शय्याको व्यवस्था र सेवा व्यवस्थापनलाई प्राथमिकता दिइने जानकारी दिइन्।