काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीका नवनियुक्त निरीक्षकहरूलाई निष्पक्षता, इमानदारिता र नैतिकतालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।
उनले प्रहरीको कामप्रति नागरिकमा विश्वास बढ्ने गरी जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित प्रहरी निरीक्षकहरूको १–१८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्। प्रधानमन्त्री बनेपछि उनी पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भएका हुन्।समारोहमा बोल्दै शाहले प्रहरीले कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी कानुनअनुसार काम गर्नुपर्ने बताए। नागरिकले भेदभावरहित र प्रभावकारी प्रहरी सेवा पाएको अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्न उनले प्रशिक्षित निरीक्षकहरूलाई आग्रह गरे।
उनले प्रहरी सेवामा व्यावसायिक सफलता हासिल गर्न इमानदारिता र नैतिकता महत्त्वपूर्ण हुने उल्लेख गरे। जिम्मेवारी पूरा गर्दा जवाफदेहितालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।प्रहरी सेवामा प्रवेश गर्न लागेका निरीक्षकहरूलाई संगठनको मर्यादा र निर्धारित कार्यप्रणालीविपरीतका गतिविधिबाट टाढा रहन पनि प्रधानमन्त्री शाहले सुझाव दिए।समयसँगै अपराधका स्वरूप र प्रवृत्ति परिवर्तन भइरहेकाले अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उनले बताए। अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तयार रहेको उनको भनाइ थियो।
प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दिनेश आचार्यका अनुसार उक्त समूहबाट ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। दीक्षित हुनेमा आठ महिला र ७१ पुरुष छन्। उनीहरूले ३४० दिनको तालिम पूरा गरेका हुन्।दीक्षान्त समारोहमा मुख्य सचिव गोविन्दबहादुर कार्की, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललगायत अधिकारीहरूको उपस्थिति थियो।