काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पार्टीका नेता तथा कार्यकर्ता उत्साहित देखिए पनि महाधिवेशन आयोजना गरिएको खुलामञ्चको अवस्था भने दयनीय बनेको छ।काठमाडौं महानगरपालिकाको पहलमा दुवो रोपेर हरियाली र आकर्षक बनाइएको खुलामञ्च अहिले हिलाम्य र अस्तव्यस्त बनेको छ। महाधिवेशनमा सहभागी हजारौँ मानिसको चहलपहल, सवारीसाधनको आवतजावत र लगातारको वर्षाका कारण मैदानको हरियाली नष्ट भएको हो। कुनै समय हरियो दुवोले ढाकिएको मैदानमा अहिले लेदो माटो, पानी जमेर बनेका खाल्डा र प्लास्टिकजन्य फोहोर छरपस्ट देखिन्छन्। महाधिवेशनका लागि निर्माण गरिएका अस्थायी मञ्च, त्रिपाल र कार्पेट हटाउने क्रममा बाँकी रहेका काठका टुक्रा तथा प्रचार सामग्रीले पनि खुलामञ्चको स्वरूप बिगारेका छन्।
ठूलो राजनीतिक कार्यक्रम सम्पन्न भए पनि मैदानको सरसफाइ र पुनःस्थापनामा भने पर्याप्त ध्यान नपुगेको देखिन्छ। सहरको खुला क्षेत्रका रूपमा विकास गर्न खोजिएको ऐतिहासिक खुलामञ्चको अवस्था बिग्रिएपछि यसको संरक्षणबारे प्रश्न उठ्न थालेका छन्। सार्वजनिक स्थलमा कार्यक्रम आयोजना गर्दा त्यसको व्यवस्थापनसँगै कार्यक्रमपछि सरसफाइ र पुनःस्थापनाको जिम्मेवारी पनि आयोजकले लिनुपर्ने स्थानीयको भनाइ छ। उनीहरूले खुलामञ्चलाई तत्काल सफा गरी पुरानै हरियाली अवस्थामा फर्काउन सम्बन्धित पक्षसँग माग गरेका छन्। राजनीतिक रूपमा भव्य बनेको कांग्रेस महाधिवेशनको समापनसँगै खुलामञ्चको बिग्रिएको अवस्थाले सार्वजनिक सम्पदाको संरक्षण र ठूला कार्यक्रमको व्यवस्थापनबारे गम्भीर प्रश्न खडा गरेको छ।