काठमाडौं । विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका चार जना राजदूतको संसदीय सुनुवाइ आज हुने भएको छ।
सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक बिहान ९ः१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा बस्ने तय भएको छ। समितिले असोज २३ गते सूचना जारी गर्दै आज बस्ने १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची सार्वजनिक गरेको थियो। बैठकमा उनीहरूविरुद्ध परेका उजुरीमाथि समेत छलफल गरिनेछ।
सुनुवाइका क्रममा प्रस्तावित राजदूतविरुद्ध उजुरी दिने व्यक्तिहरूलाई समितिमा बोलाएर उनीहरूले उठाएका विषयमा छलफल गर्ने तयारी छ। सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबरालाई राजदूतमा प्रस्ताव गरेको छ। संसदीय सुनुवाइ समितिको छलफल तथा सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नियुक्तिसम्बन्धी थप प्रक्रिया अघि बढ्नेछ।