काठमाडौं । मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन्।
घटनामा सहचालक घाइते भएका छन्।प्रहरीका अनुसार आज बिहान करिब ८ :३० बजे मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडक निर्माणका क्रममा जमिन खस्दा दुर्घटना भएको हो। सडक कटिङको काम भइरहेका बेला माथिबाट खसेको पहिरोले बा ३ क ३२७६ नम्बरको एक्स्काभेटर पुरेको थियो।एक्स्काभेटरका चालक २४ वर्षीय विमल बाग पनि पहिरोमा पुरिएका छन्। उनको स्थायी ठेगाना बझाङ रहेको खुले पनि पूरा ठेगाना यकिन हुन नसकेको प्रहरीले जनाएको छ।सोही एक्स्काभेटरमा रहेका सहचालक २२ वर्षीय विनय मल्ल ढुङ्गा भने घाइते भएका छन्। मुगुको सोरु गाउँपालिका–१ निवासी उनको हात र खुट्टामा चोट लागेको छ। प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्।
चालकको उद्धारका लागि प्रहरी परिचालन
पहिरोमा पुरिएका चालकलाई बाहिर निकाल्न सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका छन्। इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको नेतृत्वमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक आनन्दकुमार प्याकुरेलको नेतृत्वमा ७ जना गरी १३ जना प्रहरी घटनास्थलमा खटिएका छन्।प्रहरीका अनुसार दुर्घटनास्थल रातापानीस्थित इलाका प्रहरी कार्यालयबाट करिब सात किलोमिटर पूर्व र माझचौर प्रहरी चौकीबाट करिब ११ किलोमिटर पश्चिममा पर्छ।घटनामा पुरिएका चालकको अवस्था र उद्धार कार्यको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।