काठमाडौं । वर्षायामका कारण बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी पुनः सञ्चालनमा आएको छ। असार १७ गतेदेखि रोकिएको सफारी सेवा असोज २३ गतेदेखि सुरु गरिएको निकुञ्जले जनाएको छ।
वर्षाका कारण निकुञ्जभित्रका सडक बिग्रिएपछि सफारी सेवा बन्द गरिएको थियो। बाढीले क्षति पुर्याएका सडक मर्मत, ढलेका रूख हटाउने तथा झाडी सफा गर्ने काम सम्पन्न भएपछि सफारी सञ्चालनमा ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।उनका अनुसार असोजको दोस्रो सातामा आएको बाढीले जंगल सफारीका मार्गमा समेत क्षति पुर्याएकाले सेवा पुनः सञ्चालन गर्न केही समय लागेको हो।
निकुञ्जभित्र जिप सफारी बन्द रहे पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा जिप र हात्ती सफारी भने नियमित रूपमा सञ्चालन हुँदै आएका थिए। हाल सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप निकुञ्जभित्र प्रवेश गरी सफारी गर्ने व्यवस्था रहेको छ।चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत विभिन्न वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन्। जिप सफारी पुनः सुरु भएसँगै निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ।