काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहँदा विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका केही स्थानमा मौसम बदली हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षासमेत भइरहेको छ। सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने सम्भावना छ।
यी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।