काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित मधु आचार्यले पार्टीबाहिर रहेका लोकतन्त्रवादी तथा जेनजी पुस्तालाई कांग्रेससँग जोडेर अघि बढ्ने बताएका छन्।
उपसभापतिमा विजयी भएपछि प्रतिक्रिया दिँदै आचार्यले पार्टीभित्र आफूहरूले उठाउँदै आएको परिवर्तन र रूपान्तरणको एजेन्डालाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरेको बताए। उनले प्राप्त जिम्मेवारीले आफूहरूलाई प्रतिबद्धता पूरा गर्न थप उत्तरदायी बनाएको उल्लेख गरे। पार्टीका नेता, कार्यकर्ता र आम नागरिकको विश्वासलाई कायम राख्न अझ बढी मेहनत र ऊर्जाका साथ काम गर्नुपर्ने उनको भनाइ छ। कांग्रेसलाई समयअनुसार रूपान्तरण गर्दै जनताको अपेक्षाअनुसार अघि बढाउन आफूहरू सक्रिय हुने उनले बताए।
आचार्यले लोकतन्त्रमा विश्वास राख्ने तर हालसम्म कुनै राजनीतिक दलमा आबद्ध नभएका नागरिकलाई पनि कांग्रेससँग जोड्नुपर्ने आवश्यकता औँल्याए। पार्टीबाहिर रहेका लोकतन्त्रवादीहरूको विचार र भावनालाई समेटेर सहकार्य गर्नुपर्ने उनको धारणा छ। त्यसैगरी, परिवर्तनका एजेन्डासहित अघि आएको जेनजी पुस्ताका अपेक्षालाई सम्बोधन गर्नुपर्ने उनले बताए। जेनजी पुस्तालाई सडकमा सीमित नराखी उनीहरूले उठाएका मुद्दामाथि पार्टीभित्रै छलफल र सहकार्य गर्ने वातावरण बनाउनुपर्ने आचार्यको भनाइ छ। पार्टीको रूपान्तरणसँगै लोकतन्त्रवादी र जेनजी पुस्तालाई जोडेर उनीहरूका एजेन्डामा सहकार्य गर्नु आफ्नो जिम्मेवारी भएको आचार्यले बताए।