काठमाडौं । अफ्रिकी मुलुक जिबुटीको तटमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा १०९ जनाको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा १५ जना बालबालिका रहेका छन्। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार घटनाबारे जानकारी दिएको हो। आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरातमा जिबुटीबाट यमनतर्फ जाँदै गरेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनामा परेको थियो। उक्त डुङ्गामा करिब ३५० जना सवार थिए।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये ५२ पुरुष, ४२ महिला र १५ बालबालिका रहेका छन्। मृत बालबालिकामध्ये नौ जना बालिका र छ जना बालक रहेको आईओएमले जनाएको छ। दुर्घटनाबाट ८० भन्दा बढी व्यक्ति भने बाँच्न सफल भएका छन्। उनीहरू सबै इथियोपियाली नागरिक रहेको बताइएको छ। जिबुटीस्थित आईओएमका मिसन प्रमुख अलेक्जेन्डर कोइसेकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा आफ्ना आफन्तको अवस्थाबारे जानकारी पर्खिरहेका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
उनका अनुसार उद्धार तथा आपत्कालीन सहायता उपलब्ध गराउन आईओएमका टोली स्थानीय अधिकारीहरूसँग सहकार्य गर्दै घटनास्थलमा खटिएका छन्। आईओएमले यस दुर्घटनाले राम्रो आर्थिक अवसरको खोजीमा बाब–अल–मन्देब जलसन्धि पार गर्दै यमनमार्फत खाडी मुलुक पुग्न खोज्ने आप्रवासीले सामना गर्नुपर्ने जोखिमलाई पुनः उजागर गरेको जनाएको छ। सङ्गठनका अनुसार गरिबी, असुरक्षा र जलवायु परिवर्तनका बढ्दो प्रभावका कारण धेरै मानिस जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य भइरहेका छन्। मध्यपूर्वमा जारी अस्थिरताका बाबजुद पनि सुरक्षित भविष्य र रोजगारीको खोजीमा यस्ता यात्रा गर्ने क्रम जारी रहेको आईओएमले उल्लेख गरेको छ।