काठमाडौं । भारतको केरलस्थित कोचिन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै मादक पदार्थ सेवन गरेर तीव्र गतिमा चलाइएको कारले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
आइतबार बिहान भएको दुर्घटनामा स्कुटरमा सवार तीनै जनाको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा वायनाडकी २१ वर्षीया देविका, पालक्काडकी २२ वर्षीया गोपिका र कर्नाटकका २१ वर्षीय इजाज रहेका छन्। उनीहरू एक हस्तकला पसलमा कार्यरत थिए र एउटै स्कुटरमा सवार थिए। नेदुम्बासेरी नजिकै विमानस्थलतर्फ जाने सडकमा बिहान करिब १ः४५ बजे दुर्घटना भएको हो। तीव्र गतिमा आएको मिनी कूपर कारले स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि सडकमा खसेका तीनै जनालाई उपचारका लागि नजिकैको अस्पताल लगिए पनि उनीहरूको ज्यान जोगाउन नसकिएको जनाइएको छ।
दुर्घटनापछि प्रत्यक्षदर्शीले कार चालक १९ वर्षीय सुहैल सजीवलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। प्रारम्भिक अनुसन्धानमा चालकले मादक पदार्थ सेवन गरेको आशंका गरिएको छ। यसको पुष्टि गर्न प्रहरीले उनको रगत र पिसाबको नमुना सङ्कलन गरेको छ। साथै, लागुऔषध सेवन गरे–नगरेको विषयमा पनि परीक्षण गरिने बताइएको छ। मृतकका सहकर्मीका अनुसार उनीहरू राति चिया पिउन बाहिर निस्किएका थिए। फर्किने क्रममा तीव्र गतिमा आएको कारले स्कुटरलाई ठक्कर दिएको थियो।
प्रहरीले चालकले यसअघि पनि तीव्र गतिमा कार चलाउने गरेको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको छ। उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक भएका तीव्र गतिमा कार चलाइएका भिडियोसमेत अनुसन्धानको दायरामा राखिएको छ। घटनाबारे थप तथ्य पत्ता लगाउन प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज, सामाजिक सञ्जालमा रहेका भिडियो र सवारीसाधनको फरेन्सिक परीक्षण गरिरहेको जनाएको छ। चालकविरुद्ध मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाइएको छ।