काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढी आरूघाट बजारसम्म पुगेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
बाढीको जोखिम बढेसँगै आरूघाट बजार खाली गराइएको छ भने प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा जान सूचित गरिरहेको छ। बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको छ। गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार पैयू र बगर गाउँका करिब ३५ घर बाढीले बगाएको छ। त्यस्तै, दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति भएको छ।
उपाध्यक्ष गुरुङले चुमनुब्री गाउँपालिका–३ अन्तर्गतका बजार क्षेत्रमा बाढीले ठूलो असर पारेको जानकारी दिएकी छन्। उनका अनुसार आइतबार बिहान करिब ४ बजेदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए। बाढी आरूघाटसम्म आइपुगेपछि थप जोखिम हुन नदिन स्थानीय प्रशासन र प्रहरीले सतर्कता बढाएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ। बाढीबाट प्रभावित क्षेत्रको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।