काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट बरामद भएको २१ किलोभन्दा बढी सुनको अवैध कारोबारमा चीनबाट निर्देशन आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लेले वीच्याटमार्फत नेपालमा रहेका चिनियाँ नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको स्थानमा पुर्याउने निर्देशन दिने गरेका थिए।कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी माथिल्लो भंगालस्थित एक घरबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरिएको जानकारी दिएको हो। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबाट परीक्षण तथा प्रमाणीकरण गरिएको उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले बिहीबार चिनियाँ नागरिकहरूले भाडामा लिएको घरमा छापा मारेर सुन नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उक्त घरमा ल्याइने लेसिलो तथा अर्धप्रशोधित सुनलाई प्रशोधन गरेर तयार पार्ने र त्यसपछि तोकिएको ठाउँमा पुर्याउने गरिएको खुलेको छ।प्रहरीका अनुसार नेपालमा सुन कहाँ लैजाने र कसलाई बुझाउने भन्ने निर्देशनसमेत चीनमा रहेका झेनले वीच्याटमार्फत दिने गरेका थिए। पक्राउ परेका चिनियाँ नागरिकहरूले पनि सुनको प्रशोधन र ओसारपसारसम्बन्धी काममा त्यही निर्देशनअनुसार काम गर्ने गरेको बताएका छन्।
अनुसन्धानबाट उक्त घर चिनियाँ नागरिक सु क्यानले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको खुलेको छ। उनले चार महिनाको भाडाबापत अग्रिम १३ लाख २० हजार रुपैयाँ बुझाएको प्रहरीको भनाइ छ।प्रहरीले बरामद सुनको अवैध कारोबारमा संलग्न व्यक्तिहरू र यसको सञ्जालबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।