काठमाडौं ।किरात राई यायोक्खाको राष्ट्रिय महाधिवेशनका लागि विराटनगरमा भेला भएका पहिचानवादीहरूले कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
शुक्रबार रोडशेष चोकबाट सुरु भएको र्यालीमा किरात राई समुदायका सहभागीहरू परम्परागत जातीय पोसाकमा उपस्थित भएका थिए। र्यालीका क्रममा उनीहरूले प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग उठाउँदै विभिन्न नारासहित प्रदर्शन गरेका हुन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि पुगेका प्रदर्शनकारीले करिब १५ मिनेट नाराबाजी गरेका थिए। उनीहरूले ‘कोशी प्रदेश खारेज गर’, ‘पहिचानको आधारमा कोशीको नामकरण गर’ र ‘पहिचान विरोधी होसियार’ जस्ता नारा लगाएका थिए। प्रदर्शनमा सहभागीहरूले आफ्नो माग उल्लेख गरिएका प्लेकार्डसमेत बोकेका थिए।
रोडशेष चोकबाट अघि बढेको र्याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि प्रदर्शन गरेपछि वीरेन्द्र सभागृह पुगेको थियो। त्यसपछि सहभागीहरू किरात राई यायोक्खाको राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए।प्रदर्शनकारीहरूले प्रदेशको नामकरण गर्दा सम्बन्धित समुदायको पहिचानलाई प्राथमिकता दिनुपर्ने माग दोहोर्याएका छन्।