काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा शुक्रबार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।
मतदान प्रक्रिया शान्तिपूर्ण र निर्वाध रूपमा अघि बढिरहेको मतदान मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, बागमतीबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिदेखि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यसम्मका उम्मेदवार छान्न मतदान गरिरहेका छन्। यस मतदानबाट पार्टीको आगामी नेतृत्व चयन हुने भएकाले महाधिवेशन प्रतिनिधिहरूको सहभागितालाई महत्त्वका साथ हेरिएको छ। मतदान प्रक्रिया जारी रहेकाले मत खस्ने क्रम अझै बढ्ने अपेक्षा गरिएको छ।