काठमाडाैँ। पोखरामा भएको स्कुल बस दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन्। महानगरपालिकाका अनुसार समितिले दुर्घटनासँग सम्बन्धित घटनाक्रमको अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र तथ्यसहितको प्रतिवेदन बुझाउनुपर्नेछ। साथै, विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन र भविष्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने उपायबारे पनि समितिले सुझाव दिनेछ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विद्यालयका सवारीसाधनको नियमित प्राविधिक जाँच, सुरक्षा मापदण्डको कडाइका साथ कार्यान्वयन र प्रभावकारी अनुगमनमा जोड दिएका छन्। उनले यस्ता दुःखद घटना दोहोरिन नदिन सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस कालिका क्षेत्रमा पर्ने ओख्लेको भिरमा दुर्घटनामा परेको थियो। दुर्घटनाका बेला विद्यार्थी, चालक र सहचालकसहित २२ जना बसमा सवार थिए। उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन्। घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाको वास्तविक कारण पहिचान गर्नुका साथै विद्यालयका सवारीसाधनको सुरक्षा व्यवस्था सुधार गर्न आवश्यक सुझाव दिन महानगरले छानबिन समिति गठन गरेको जनाएको छ।