काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका अधिकांश भूभागमा मौसम बदली रहनुका साथै विभिन्न प्रदेशमा वर्षा भइरहेको छ।विभागकी मौसमविद् माधवी सिग्देलका अनुसार हाल हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि मौसम बदली भएको छ भने अन्य तराई क्षेत्रमा आंशिक बदली र हुस्सु देखिएको छ। सुदूरपश्चिममा भारी वर्षा भइरहँदा बागमती, गण्डकी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
विभागको पछिल्लो २४ घण्टाको विवरणअनुसार दार्चुलाको धरमपानीमा सबैभन्दा बढी ६१ मिलिमिटर वर्षा मापन गरिएको छ। पोखराको मालेपाटनमा पनि ४८.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ। अन्य प्रदेशका विभिन्न स्थानमा समेत हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ।आगामी २४ घण्टामा पनि देशका धेरैजसो क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका लागि पहेँलो रङको चेतावनी जारी गरेको छ। वर्षाले कृषि तथा दैनिक जनजीवनमा असर पार्न सक्ने भएकाले मौसमको पछिल्लो जानकारी लिएर आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।विभागले आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जारी हुने मौसमसम्बन्धी सूचनामा ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेको छ।