काठमाडौं । दशैंको सार्वजनिक बिदाका बीच पनि काठमाडौं जिल्ला अदालतले सीमित सेवा सञ्चालन गर्ने भएको छ।
अदालतले शुक्रबार सूचना जारी गर्दै असोज २५ देखि कात्तिक ८ गतेसम्मको बिदा अवधिमा तोकिएका दिनबाहेक अन्य दिन सेवा उपलब्ध गराइने जनाएको हो।अदालतका अनुसार घटस्थापना, शनिबार, फूलपाती र विजयादशमीको टीकाका दिन सेवा बन्द रहनेछ। अन्य दिन भने बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ।बिदाको समयमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता, जरुरी पक्राउ पुर्जीको समर्थन तथा उपस्थित अभियुक्तको म्याद थप गर्न सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी, कल डिटेल्स ९सीडीआर० लिन आवश्यक अनुमति प्रदान गर्ने, पक्राउ अनुमति जारी गर्ने र धरौटी बुझाउन नसकी थुनामा रहेका प्रतिवादीले रकम दाखिला गरेमा सो रकम बुझिलिने सेवा पनि उपलब्ध हुनेछ।अदालतले फैसला अनुसारको जरिवाना रकम तिरेर रिहा हुन सक्ने व्यक्तिबाट जरिवाना रकम बुझ्ने व्यवस्था समेत मिलाएको जनाएको छ। दशैं बिदामा पनि अत्यावश्यक न्यायिक सेवा निरन्तर राख्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
