काठमाडौं ।सशस्त्र प्रहरी बल पर्साले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब १५ लाख २८ हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर नजिकको सीमा क्षेत्रबाट खटिएको टोलीले नौ लाख २२ हजार ५०० रुपैयाँ बराबरका औषधि नियन्त्रणमा लिएको हो। बरामद औषधि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।त्यस्तै, सोही गणबाट परिचालित अर्को टोलीले वीरगञ्ज–१६ बाट तीन लाख दुई हजार ९६० रुपैयाँ बराबरको मोटरसाइकल तथा तरकारी बरामद गरेको छ।
यसैगरी, सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज–१६ को इनर्वा सीमा क्षेत्रबाट एक लाख ७७ हजार ८६० रुपैयाँ बराबरका कपडा तथा जुत्ता नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित लक्ष्मीपुर चोकमा सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले पनि एक लाख २५ हजार १०० रुपैयाँ बराबरका सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।