काठमाडौं ।चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कास्की प्रहरीले पोखरा प्रवेश गर्ने प्रमुख नाकाहरूमा सुरक्षा निगरानी बढाएको छ।
प्रहरीले लागुऔषध तथा विस्फोटक पदार्थको ओसारपसार रोक्न तालिमप्राप्त कुकुरको सहयोगमा सवारीसाधन र यात्रुहरूको जाँच गरिरहेको छ।यसैक्रममा पोखरा महानगरपालिका–२५ हेम्जास्थित सुइखेत क्षेत्रमा विशेष सुरक्षा जाँच सञ्चालन गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयको समन्वयमा गरिएको उक्त अभियानमा लागुऔषध र विस्फोटक पदार्थ पहिचान गर्न सक्ने तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरीले जनाएको छ।कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र पासवानका अनुसार चाडपर्वमा यात्रुको आवागमन बढ्ने भएकाले सम्भावित जोखिम न्यूनीकरण र नागरिकको सुरक्षालाई ध्यानमा राखेर जाँच अभियान सञ्चालन गरिएको हो।
अभियानमा जनपद प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। पोखराका विभिन्न संवेदनशील क्षेत्रमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ।चाडपर्व अवधिभर सुरक्षा जाँचलाई निरन्तरता दिने तयारी गरेको प्रहरीले यात्रालाई सुरक्षित बनाउन र सम्भावित गैरकानुनी गतिविधि रोक्न सर्वसाधारणलाई प्रहरीसँग सहकार्य गर्न आग्रह गरेको छ।