काठमाडौं ।दसैँ नजिकिएसँगै भारतमा रोजगारी तथा विभिन्न कामका लागि पुगेका नेपालीहरू स्वदेश फर्किने क्रम तीव्र बनेको छ।
नेपालगञ्जको जमुनाहा नाकाबाट पछिल्ला दिनमा घर फर्किने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको छ।इलाका प्रहरी कार्यालय जमुनाहा, बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार पछिल्लो पाँच दिनमा मात्रै ५० हजारभन्दा बढी नेपाली यही नाका हुँदै नेपाल प्रवेश गरेका छन्। उनका अनुसार अहिले दैनिक १० हजारभन्दा बढी नेपाली जमुनाहा नाकाबाट स्वदेश भित्रिरहेका छन्।
भारतका नयाँ दिल्ली, मुम्बई, हिमाञ्चल प्रदेशलगायत विभिन्न स्थानमा काम गर्दै आएका नेपाली दसैँ मनाउन घर फर्किरहेका छन्। बिहानैदेखि साँझसम्म नाकामा स्वदेश फर्किने यात्रुको भीड देखिने गरेको प्रहरीको भनाइ छ।चाडपर्वको समयमा सीमावर्ती क्षेत्रमा यात्रु ठगी, लुटपाट वा अलपत्र पर्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। यात्रुलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराउन जमुनाहा नाकामा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।
उनका अनुसार भारतबाट फर्किएका नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्भावित जोखिमको पहिचान गरी सुरक्षा योजना लागू गरिएको छ। सहायता कक्षबाट यात्रुलाई आवश्यक जानकारी, समन्वय तथा सहयोग उपलब्ध गराइनेछ।बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले दसैँको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागू गरिएको बताए। भारतबाट फर्किने यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक प्रहरी परिचालन गरिएको उनको भनाइ छ।
यात्रुको चापलाई मध्यनजर गर्दै नेपालगञ्ज र कोहलपुरका बसपार्कमा समेत यात्रु सहायता कक्ष सञ्चालन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। सहायता कक्षबाट स्वदेश फर्किएका नागरिकलाई सुरक्षित यात्राका लागि आवश्यक सहयोग प्रदान गरिनेछ।