काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवसायीसँग छलफल गरिरहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी व्यवसायीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। छलफलमा मुलुकको पछिल्लो आर्थिक अवस्था, उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण र रोजगारी सिर्जनालगायतका विषयमा कुराकानी भइरहेको जनाइएको छ। त्यस्तै, सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउने उपाय, निजी क्षेत्रको लगानी विस्तार तथा व्यवसाय प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारबारे पनि छलफल हुने बताइएको छ। सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।