काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा निजी क्षेत्रका प्रमुख संगठनका प्रतिनिधिहरूले सरकार तथा राजनीतिक नेतृत्वलाई व्यवसायीप्रति मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थतन्त्रको वर्तमान अवस्था र व्यवसायीप्रतिको सरकारी व्यवहारबारे धारणा राखेका हुन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कोभिड महामारीपछि अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै त्यसलाई सुधार्न राज्यको सक्रिय पहल आवश्यक रहेको बताए। उनले सरकारको प्रोत्साहनपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम बढेको उल्लेख गर्दै विपद्का बेला निजी क्षेत्र पनि आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताए। साथै, राज्य र राजनीतिक वृत्तबाट व्यवसायीलाई हेर्ने तथा सम्बोधन गर्ने शैली मर्यादित हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन पूँजीगत खर्च बढाउनुपर्ने बताए। विद्यमान कानुनी जटिलता हटाउँदै लगानीको वातावरण सहज बनाउनुपर्ने उनको भनाइ थियो। यसका लागि परिसंघले निरन्तर पहल गरिरहेको उनले जानकारी दिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भने सरकारले लामो समयदेखि निजी क्षेत्रलाई मात्र दोष दिने प्रवृत्ति देखाउँदै आएको भन्दै त्यसलाई अन्त्य गर्न आग्रह गरे। ‘निजी क्षेत्रलाई गाली गर्ने प्रवृत्ति विगतदेखि नै देखिँदै आएको छ। परिवर्तनको सोचसहित आउनुभएका तपाईंहरूले अब यो प्रवृत्तिलाई निरन्तरता नदिनुहोस्,’ श्रेष्ठले भने। उनले बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थानमा निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेकोसमेत बताए। विपद्को अवस्थामा सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय अझ मजबुत हुनुपर्ने उनको धारणा थियो।