काठमाडौँ । धुलिखेल अस्पतालले रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रत्यक्ष प्रभावित परिवारका सदस्यहरूलाई एक वर्षसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको छ। अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण सिर्जित गम्भीर मानवीय तथा भौतिक क्षति र प्रभावित परिवारको दीर्घकालीन आवश्यकतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ।
अस्पताल प्रशासनका अनुसार यस व्यवस्थाबाट बाढीपीडित परिवारको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुका साथै उपचारमा लाग्ने आर्थिक भार उल्लेख्य रूपमा न्यूनीकरण हुने विश्वास लिइएको छ। उक्त निःशुल्क सेवा प्राप्त गर्ने प्रक्रिया र आवश्यक विवरणहरू अस्पतालले छिट्टै सार्वजनिक गर्ने स्पष्ट पारेको छ।
बाढीको सुरुवातदेखि नै उद्धार तथा स्वास्थ्य सेवा प्रवाहमा निरन्तर संलग्न रहँदै आएको धुलिखेल अस्पतालले आफ्ना पहुँच र क्षमताअनुसार प्रभावित समुदायहरूमा थप स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूसमेत सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ।
विपद्को यस कठिन घडीमा बाढीप्रभावित सम्पूर्ण परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै अस्पतालले प्रभावित समुदायको स्वास्थ्य, पुनरुत्थान तथा पुनःस्थापनाका लागि निरन्तर साथ र सहयोग पु¥याउने प्रतिबद्धता दोहोर्याएको छ।