काठमाडौं । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढेपछि सरकारले रसुवामा हैजाविरुद्धको खोप र औषधि पठाएको छ।
हैजाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रसुवाका लागि २१ हजार डोज हैजाविरुद्धको खोप पठाइएको हो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान प्रभावित क्षेत्रमा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।स्वास्थ्यमन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा लगायतका पानीजन्य रोग फैलिन नदिन आवश्यक औषधि, खोप, स्वास्थ्य सामग्री र जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी थिइन्।मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि वितरणसँगै रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको छ।बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै सरकारले रोगको रोकथाम, समयमै पहिचान र उपचार व्यवस्थालाई प्राथमिकतामा राखेको जनाएको छ।