काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ३८ जना स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका छन्।
भदौ १० गते आएको बाढीपछि उद्धार गरिएका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ५० जना घाइतेलाई उपचारका लागि ल्याइएको थियो।उपचारपछि हालसम्म ३८ जना अस्पतालबाट घर फर्किएका छन्। अहिले ट्रमा सेन्टरमा १२ जना घाइते उपचाररत रहेको अस्पतालले जनाएको छ। उपचारमा रहेका अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको र साधारण श्ययामै राखेर उपचार भइरहेको बताइएको छ।बाढी प्रभावित तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक जानकारी उपलब्ध गराउन प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ।सहायता कक्षमा पुगेर आफन्तहरूले घाइतेको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिन सक्नेछन्। साथै, सम्पर्कविहीन परिवारका सदस्यको विवरणसमेत प्रहरीलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। घाइतेको उपचारसँगै बेपत्ता व्यक्तिको खोजी र प्रभावित परिवारसँग समन्वयलाई पनि प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।