काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा तथा आसपासका क्षेत्रमा रहेका जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ।
बाढी आएको १२ दिन बितिसक्दा पनि ९सय ३३ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पान का अनुसार बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका ८ वटा र निर्माणाधीन ४ वटा गरी १२ आयोजना प्रभावित भएका छन्। तीमध्ये ११ वटा आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ। प्रभावित आयोजनाको कुल क्षमता ६ सय ६९ मेगावाट रहेको छ।बाढीका कारण विभिन्न आयोजनामा कार्यरत स्वदेशी तथा विदेशी कामदारसमेत बेपत्ता भएका छन्। केहीलाई भने उद्धार गरिसकिएको छ।निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत १ हजार ४ सय ३३ जनामध्ये ५ सय ४८ जना अझै सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा कोरियाली, चिनियाँ र भारतीय नागरिकसमेत रहेका छन्। हालसम्म ८ सय ७८ जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजीका लागि कोरियन टोली, शेर्पा, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन गरिएको छ। आयोजनाको डिसेन्डर बेसिनको डाउनसाइटमा दुईवटा शवसमेत फेला परेको जनाइएको छ।
१ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको विद्युतगृह बाढीले बगाएर ल्याएको लेदो र मलबारले भरिएको छ। विद्युतगृहभित्र केही व्यक्ति फसेको हुनसक्ने आशंका रहे पनि हालसम्म उनीहरूको अवस्था यकिन हुन सकेको छैन। नेपाली सेना र भूगर्भविद्को टोलीले स्थलगत निरीक्षण गरी विद्युतगृहको अवस्था अध्ययन गरेको छ।चिलिमे जलविद्युत केन्द्रमा पनि उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। नेपाली र भारतीय सेनाका टोलीले विद्युतगृहसम्म पुग्ने पहुँच सुरुङबाट लेदो हटाउने काम गरिरहेका छन्। करिब २ सय ५० मिटर लामो सुरुङमध्ये अहिलेसम्म करिब १ सय मिटर मात्र सफा गर्न सकिएको छ। उक्त क्षेत्रमा ६ जना बेपत्ता रहेको बताइएको छ भने साइट कार्यालयमा रहेका ७१ जना सुरक्षित स्थानमा पुगेका छन्।
३७ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–३ बी आयोजनामा १ सय ९१ जना कामदार सम्पर्कविहीन छन्। २३ जनाको भने उद्धार गरिएको छ। खोजीका क्रममा एक्साभेटर प्रयोग गरिए पनि अहिलेसम्म कुनै ठोस संकेत फेला नपरेको जनाइएको छ।त्यस्तै, २० मेगावाटको लाङटाङ खोला आयोजनामा ३९ जना अझै सम्पर्कविहीन छन् भने ११ जनाको उद्धार गरिएको छ। ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनामा ३९ जना बेपत्ता छन्।२४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रमा दुई सुरक्षागार्ड र एक कर्मचारी गरी तीन जना बेपत्ता छन्। त्यहाँबाट ७० जनाको उद्धार गरिएको छ।रसुवा–भोटेकोशी आयोजनामा चार जना, मैलुङ खोला आयोजनामा सात जना तथा मिडल त्रिशूली गंगा आयोजनामा दुई जना बेपत्ता रहेको विवरणमा उल्लेख छ।
बाढीपछि सडक तथा यातायात सञ्जालमा आएको अवरोध र प्रतिकूल मौसमले उद्धारमा थप कठिनाइ भइरहेको छ। ठूला मेसिन तथा एक्साभेटर घटनास्थलसम्म पुर्याउन नसकिएपछि साना हेलिकप्टरबाट आवश्यक सामग्री लैजाने र उपलब्ध उपकरणमार्फत खोजी कार्य अघि बढाइएको छ।बाढीले थुपारेको लेदो, ढुंगा तथा काठका कारण सुरुङ, विद्युतगृह र हेडवर्क्स क्षेत्रमा खोजी तथा उद्धार कार्य थप जटिल बनेको छ। बेपत्ता व्यक्तिको खोजीलाई तीव्रता दिइए पनि कठिन भौगोलिक अवस्था र पूर्वाधारमा भएको क्षतिका कारण उद्धारमा समय लागिरहेको छ।