काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रोबस सोमबार बिहान करिब २ बजे सडकबाट झन्डै २०० मिटर तल खसेको हो। दुर्घटनामा इलाम नगरपालिका–६ का ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपागाई र उनका ९ वर्षीय छोरा रितिक घाइते भएका छन्।
अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले तीनै जनाको उद्धार गरेको थियो। उद्धार गरिएका घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।