काठमाडौं।प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले अमेरिकामा आयोजना गरिएको नेपाली फिल्म ‘मालती मंगले’को च्यारिटी शोबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ।
फिल्मका निर्माता तथा गायक रामकृष्ण ढकालका अनुसार च्यारिटी शोबाट २ हजार ३१ अमेरिकी डलर संकलन भएको थियो। नेपाली मुद्रामा करिब ३ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको उक्त रकम बाढी तथा पहिरो प्रभावितको राहतका लागि सरकारी कोषमा जम्मा गरिएको हो।ढकालका अनुसार अमेरिकाको भर्जिनियामा ‘मालती मंगले’को विशेष प्रदर्शन गर्ने तयारी यसअघि नै गरिएको थियो। तर नेपालमा आएको प्राकृतिक विपत्तिको अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यक्रमलाई च्यारिटी शोमा परिणत गरिएको थियो।संकलित रकम विपद्मा परेका नागरिकको राहत तथा सहयोगमा उपयोग हुने अपेक्षा गरिएको छ। पछिल्लो समय बाढीपहिरो प्रभावितको सहयोगका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट विभिन्न माध्यममार्फत आर्थिक तथा अन्य सहयोग जुटिरहेको छ।मालती मंगले’ रामकृष्ण ढकालको निर्माणमा बनेको फिल्म हो। नेपालमा केही समयअघि प्रदर्शनमा आएको यस चलचित्रमा विजय बराल र वर्षा राउत मुख्य भूमिकामा छन्।