काठमाडौं।सिरहाको मिर्चैया नगरपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख ५८ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले पालिकाको तर्फबाट ५ लाख रुपैयाँ प्रदान गर्ने तथा जनप्रतिनिधि र कर्मचारीसहित शिक्षक एवं स्वास्थ्यकर्मीको पारिश्रमिकबाट समेत रकम जुटाउने निर्णय गरेको हो।नगरपालिकाका अनुसार जनप्रतिनिधिले १५ दिन बराबरको सेवा सुविधा र कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीले पाँच दिनको पारिश्रमिक सहयोग गर्नेछन्। यी सबै रकम जोड्दा २५ लाख ५८ हजार रुपैयाँ बराबरको सहयोग रकम तयार हुने नगर प्रमुख श्रवण यादवले जानकारी दिएका छन्।नगर प्रमुख यादवका अनुसार विपद्को समयमा स्थानीय सरकारको मात्रै नभई जनप्रतिनिधि र कर्मचारीको पनि सामाजिक दायित्व रहने भएकाले आपसी छलफलपछि सहयोग गर्ने निर्णय गरिएको हो।निर्णयअनुसार संकलित रकम एक सातापछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिनेछ। नगरपालिकाले उक्त रकम बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग हुने विश्वास लिएको छ।यसअघि सिरहाका अन्य स्थानीय तहहरूले पनि भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग घोषणा गरिसकेका छन्। लहान नगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ भने गोलबजार, सिरहा र कल्याणपुर नगरपालिकाले पाँच–पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।