काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानलाई सिँचाइ गर्न सहज भएको छ।
विगतमा आकाशे पानीको भर पर्नुपर्ने र सुक्खा रहने गरेका खेतबारीमा अहिले सिँचाइ सुविधा पुग्न थालेपछि कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव परेको छ। बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले निर्माण गरेको ड्यामबाट हाल हेमन्तपुर क्षेत्रमा सिँचाइ भइरहेको छ। साथै धनखन्ने, सानोदमार र दौडारे क्षेत्रका करिब दुई सय बिघा जमिनमा समेत सिँचाइ सुविधा विस्तार गर्ने काम अघि बढिरहेको स्थानीय ड्याम संरक्षण समितिका अध्यक्ष गोविन्द नेपालीले जानकारी दिए।
उनका अनुसार ड्याम निर्माणले खेतबारीमा सिँचाइ सुविधा पुर्याउनुका साथै आसपासका कुवा तथा इनारमा पानीको सतह बढाउन पनि सहयोग गरेको छ। यसले स्थानीय क्षेत्रमा पानीको उपलब्धता सहज बनाएको छ। तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीका अनुसार विगतमा चैत महिनामै सुक्ने कुवा तथा इनार अहिले पानी पुनर्भरण हुने क्रम बढेसँगै वर्षभरि पानी रहने अवस्थामा पुगेका छन्। सिँचाइ अभावमा बाँझो तथा सुक्खा रहने गरेका जमिन अहिले हरियालीमा परिणत हुन थालेका छन्।
वडाध्यक्ष वलीका अनुसार उक्त क्षेत्रलाई भू–वर्गीकरणमार्फत आवासीय वा औद्योगिक क्षेत्रभन्दा कृषि क्षेत्रका रूपमा विकास गर्ने गरी अघि बढाइएको छ। कृत्रिम ड्याम तथा तालतलैयाले जलस्रोत र प्राकृतिक वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै कृषि क्षेत्रको विकासमा समेत सहयोग गरेको उनले बताए। ड्याममा डुङ्गासमेत सञ्चालनमा रहेको छ। डुङ्गा सञ्चालनबाट आम्दानीसमेत हुन थालेपछि उक्त क्षेत्र सिँचाइ सुविधासँगै स्थानीय आयआर्जनको माध्यमका रूपमा पनि विकसित हुँदै गएको छ।