काठमाडौं। चितवनमा लामो समयदेखि रहस्यमय बनेको एक हत्याको घटना डीएनए परीक्षणपछि खुलेको छ।
भरतपुर महानगरपालिका–१८ का टीकाराम नेपालीको कङ्काल नारायणी नदी किनारमा फेला परेपछि गरिएको परीक्षणबाट उनको पहिचान पुष्टि भएको हो। अनुसन्धानका क्रममा उक्त हत्यामा उनका आफ्नै छोराहरू संलग्न रहेको तथ्यसमेत बाहिर आएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७९ फागुन १९ गते भरतपुर–१७ गाजीपुरस्थित नारायणी नदीको बगरमा मानव कङ्काल भेटिएको थियो। घटनास्थलमा खप्पर, मेरुदण्ड, कम्मर, तिघ्रा तथा दुवै खुट्टाका हड्डीहरू फेला परेका थिए। कङ्कालसँगै केही कपडा, मोबाइल, मुख बाँध्न प्रयोग भएको सामग्री, च्यातिएको बोरा र प्लास्टिकका थैलासमेत भेटिएका थिए।
कङ्काल फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। टीकाराम बेपत्ता रहेको जानकारी पाएपछि उनका कान्छा छोरा अनिल नेपालीको रगतको नमुना लिएर डीएनए परीक्षण गरिएको थियो। परीक्षणको नतिजाले नदी किनारबाट बरामद हड्डीहरू टीकारामकै भएको पुष्टि गरेको प्रहरीले जनाएको छ।पहिचान खुलेपछि प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको थियो। प्रहरीका अनुसार टीकारामका जेठा छोरा अम्मरसिंह नेपाली र माइलो छोरा विष्णुबहादुर नेपाली रोजगारीका सिलसिलामा विदेशमा थिए। उनीहरूलाई नेपाल झिकाउन प्रहरीले रेड कर्नर नोटिससमेत जारी गरेको थियो।केही दिनअघि अम्मरसिंह नेपाल फर्किएपछि प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनले भाइ विष्णुबहादुरसँग मिलेर बाबुको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताएका छन्।प्रहरीका अनुसार घरमा बाबुआमाबीच विवाद भएपछि टीकाराम घर छाडेर नवलपरासीको गैँडाकोट पुगेका थिए। त्यहाँ अर्काको घरमा काम गरिरहेका उनलाई दुवै छोराले फकाएर घर ल्याएपछि हत्या गरेको पक्राउ परेका अम्मरसिंहको बयानबाट खुलेको प्रहरीको भनाइ छ।पक्राउ परेका अम्मरसिंहविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। उनलाई भदौ १६ गते चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। घटनामा संलग्न भनिएका विष्णुबहादुर भने अझै वैदेशिक रोजगारीकै क्रममा विदेशमा रहेको प्रहरीले जनाएको छ।