काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले विपद्मा परेका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।नगरप्रमुख ढकालका अनुसार बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको हो।नगरपालिकाले सहयोगस्वरूप उपलब्ध गराउने ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाएको छ। उक्त रकममार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।