काठमाडौं । कन्दरा ब्यान्डले अमेरिकामा आयोजित सांगीतिक कार्यक्रमबाट संकलित २१ लाख रुपैयाँ बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको छ।
कन्दराको पहलमा बिएनएमको आयोजनामा अमेरिकाको एटलान्टामा कन्सर्ट गरिएको थियो। कार्यक्रममा स्थानीय नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी, कलाकार तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। सोही कार्यक्रममार्फत संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको ब्यान्डले जनाएको छ।कन्दराका अनुसार एटलान्टामा रहेको गैरनाफामूलक संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खातामार्फत उक्त रकम राहत कोषमा हस्तान्तरण गरिएको हो। बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको ब्यान्डले जनाएको छ।ब्यान्डका गायक तथा संस्थापक विवेक श्रेष्ठले विपद्का कारण देश पीडामा रहेका बेला सांगीतिक कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने प्रयास गरिएको बताए।उनका अनुसार संकटको समयमा एटलान्टामा रहेका नेपाली समुदायले देखाएको सहकार्य, सद्भाव र सहयोगकै कारण राहत रकम जुटाउन सम्भव भएको हो।कन्दरा हाल दुई महिने अमेरिका भ्रमणमा छ। अगस्ट ७ देखि सेप्टेम्बर ३० सम्म सञ्चालन हुने ‘रिदम अफ चेन्ज’ नामक सांगीतिक यात्राअन्तर्गत ब्यान्डले विभिन्न अमेरिकी सहरमा प्रस्तुति दिइरहेको छ।बोस्टनबाट सुरु भएको भ्रमणका क्रममा एटलान्टामा कार्यक्रम सम्पन्न गरिसकेको कन्दराले अब भर्जिनिया र कोलोराडोमा प्रस्तुति दिने तयारी गरेको छ। आगामी कार्यक्रमहरूमा पनि भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउने ब्यान्डले जनाएको छ।