काठमाडौं । कप्तान राफिन्हा र युवा स्टार लामिन यामलको उत्कृष्ट प्रदर्शनमा साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तेस्रो जित हात पारेको छ।
गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रायो भायोकानोलाई ५–२ गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा राफिन्हा र यामलले समान दुई गोल गरे भने एक गोल विपक्षी टोलीका खेलाडीबाट आत्मघाती रूपमा भएको थियो। भायोकानोका लागि सर्जियो कामेलोले दुई गोल फर्काए।खेलको १२औँ मिनेटमा कामेलोले गोल गर्दै भायोकानोलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, १९औँ मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोना खेलमा फर्कियो। त्यसको दुई मिनेटपछि नै यामलले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए।
पहिलो हाफपछि ५१औँ मिनेटमा भायोकानोका फ्लोरियन लेजेउनेले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता ३–१ पुग्यो। कामेलोले ५९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भायोकानोलाई पुनः खेलमा फर्काउने प्रयास गरे। तर, बार्सिलोनाले त्यसपछि पनि दबाब कायम राख्यो। राफिन्हाले ७१औँ तथा यामलले ९०औँ मिनेटमा गोल गर्दै टोलीको जित ५–२ ले पक्का गरे। यो जितसँगै बार्सिलोनाले तीन खेलबाट ९ अंक जोड्दै ला लिगाको शीर्ष स्थानमा स्थान बनाएको छ। लगातार दोस्रो हार बेहोरेको रायो भायोकानो भने तीन खेलबाट एक अंकसहित १८औँ स्थानमा छ।