काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी तथा अभिभावकको दैनिक जीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी कानुनले दिएको अधिकार प्रयोग गर्दै विभिन्न विश्वविद्यालयका उपकुलपतिलाई परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्। सरकारको निर्देशनअनुसार भदौ १३ गतेदेखि हुने परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि रोक्नुपर्नेछ। स्थगित परीक्षाको नयाँ तालिका परिस्थितिअनुसार उपयुक्त समयमा सार्वजनिक गर्न विश्वविद्यालयहरूलाई भनिएको छ। त्यस्तै, भदौ १२ गतेको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि विश्वविद्यालयलाई निर्देशन दिइएको छ।
विपद्को अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम पनि स्थगित गर्न मन्त्री पोखरेलले आग्रह गरेका छन्। विपद्बाट प्रभावित विद्यार्थी र अभिभावकसँग विश्वविद्यालय तथा सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ। प्रभावित विद्यार्थी तथा आवश्यक परे अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न र विपद्का कारण पढाइमा परेको असरलाई सम्बोधन गर्दै विद्यार्थीको शैक्षिक निरन्तरता कायम राख्न आवश्यक कदम चाल्न भनिएको छ। मन्त्री पोखरेलले वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गर्दै निर्देशनहरू तत्काल कार्यान्वयन गर्न विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरेका छन्। साथै, विपद्को समयमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिन पनि उनले अनुरोध गरेका छन्।