काठमाडौँ । विद्यार्थीले कपाल छोटो बनाउन नमानेपछि विद्यालय र अभिभावकबीचको असमझदारी बढ्दै गएको पाइएको छ।
कतिपय विद्यालयले विद्यार्थीलाई कपाल काट्न दबाब दिएको भन्दै हेलो सरकार तथा प्रहरीमा समेत उजुरी पुग्न थालेका छन्। चितवन कृष्णपुरका विनोद ढकाललाई आफ्नो कक्षा ९ मा अध्ययनरत छोराले कपाल छोटो बनाइदिए हुन्थ्यो भन्ने लाग्छ। विद्यालयबाट समेत छोरालाई कपाल काट्न लगाउन आग्रह गर्दै फोन आएको उनले बताए। तर छोराले कपाल छोटो बनाउन नमानेपछि आफूले जबर्जस्ती नगरेको उनको भनाइ छ।भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको अनुभव पनि यस्तै छ। कक्षा १२ मा अध्ययनरत जेठो छोरालाई कपाल काट्न आग्रह गर्न छाडेको र कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि आफ्नो कुरा बेवास्ता गर्न थालेको उनले बताए।
अभिभावकका यस्ता गुनासो पछिल्लो समय बढ्दै गएको बताइएको छ। विद्यालय तथा उच्च शिक्षामा अध्ययनरत किशोरहरू लामो कपाल राख्न रुचाउने क्रम बढेको छ। कतिपय विद्यार्थीले कपाल मिलाउनसमेत रुचि नदेखाउने र प्राकृतिक रूपमै छाड्ने गरेको अभिभावकहरूको भनाइ छ। विद्यार्थीलाई इच्छाविपरीत कपाल काट्न लगाउन नपाइने व्यवस्था भएपछि कतिपय विद्यालयले अभिभावकमार्फत दबाब दिने गरेको गुनासोसमेत सुनिन थालेको छ। भरतपुर महानगरपालिकाको शिक्षा महाशाखामा विद्यालयले कपाल काट्न दबाब दिएको भन्दै विद्यार्थीले हेलो सरकारमा उजुरी गरेको जानकारी आउने गरेको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यले बताए। उनका अनुसार विशेषगरी हजुरबुबा–हजुरआमासँग बस्ने, छात्रावासमा बस्ने वा अभिभावकबाट टाढा रहेका विद्यार्थीले कपाल छोटो बनाउन अस्वीकार गर्ने गरेको देखिएको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरीले पनि विद्यार्थीलाई कपाल काट्न दबाब दिन छाडिएको बताए। उनका अनुसार विद्यालयले जबर्जस्ती कपाल काट्न लगाएको भन्दै देशभरका ३५ भन्दा बढी निजी विद्यालयविरुद्ध हेलो सरकारमा उजुरी परेको जानकारी आफूले पाएका छन्।उनले विशेषगरी कक्षा ९ देखि १२ सम्मका विद्यार्थीमा लामो कपाल राख्ने प्रवृत्ति बढी देखिएको बताए। उनका अनुसार अहिले विद्यार्थीको कपाल काट्ने विषयमा विद्यालयले हस्तक्षेप गर्न सक्ने अवस्था छैन। सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको १०औँ संशोधनले पनि विद्यार्थीको इच्छाविपरीत कपाल काट्न नपाउने व्यवस्था गरेको छ। विद्यालयले जबर्जस्ती कपाल काट्ने वा काट्न लगाउने गरेको गुनासो बढेपछि यस्तो व्यवस्था नियमावलीमा समेटिएको हो।
नियमावलीको नियम २५ मा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक प्रभाव पार्ने गतिविधि विद्यालय परिसर वा कक्षाकोठाभित्र गर्न वा गराउन नहुने उल्लेख छ। विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउने कार्यसमेत निषेध गरिएको छ। वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञानका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरे किशोरमा लामो कपाल राख्ने रुचि बढ्नुमा सामाजिक सञ्जाल, इन्टरनेट र सेलिब्रेटीको प्रभाव महत्वपूर्ण रहेको बताउँछन्। उनका अनुसार पहिले युवाहरूले चलचित्र वा अन्य माध्यमबाट सेलिब्रेटी तथा विदेशी शैलीबारे जानकारी पाएपछि त्यसको अनुकरण गर्थे। अहिले भने बाल्यकालदेखि नै मोबाइल र इन्टरनेटमार्फत त्यस्ता सामग्री सहजै उपलब्ध हुने भएकाले अनुकरण गर्ने उमेरसमेत घटेको छ। ‘सेलिब्रेटीले अपनाएको शैलीलाई पछ्याउनु मानिसको स्वाभाविक प्रवृत्ति हो,’ घिमिरेको भनाइ छ। उनका अनुसार लामो कपाल राख्नु आफैंमा नराम्रो कुरा होइन। तर त्यसको नियमित स्याहारमा लाग्ने समय र खर्चले पढाइमा असर पार्न सक्ने विषयमा भने विद्यार्थी सचेत हुन आवश्यक छ।
घर तथा विद्यालयबाट पटक–पटक कपाल छोटो बनाउन आग्रह गर्दा पनि अटेर गर्नु किशोरावस्थामा देखिने स्वतन्त्रता खोज्ने प्रवृत्ति वा परम्परागत नियमप्रतिको सांकेतिक असहमतिको रूपमा पनि बुझ्न सकिने उनको भनाइ छ। पछिल्लो समय विद्यालय तथा कलेज तहका किशोरहरू परम्परागत छोटो कपालको शैलीभन्दा आफूलाई आधुनिक र आकर्षक देखाउने शैलीमा बढी आकर्षित भएको देखिन्छ। सामाजिक सञ्जाल, चलचित्र, संगीत तथा विदेशी फेसनको प्रभावले यस्तो प्रवृत्तिलाई थप बढावा दिएको विज्ञहरूको बुझाइ छ। यद्यपि, लामो कपाल राख्दा नियमित सफाइ र हेरचाहमा थप समय तथा खर्च लाग्ने विज्ञहरू बताउँछन्। पर्याप्त स्याहार नगरेमा कपालमा चाया, जुम्रा तथा अन्य समस्या देखिन सक्ने र लामो तथा बाक्लो कपालमा पसिना र फोहोर जम्दा विशेषगरी गर्मी मौसममा स्वास्थ्यसम्बन्धी समस्या निम्तिन सक्ने उनीहरूको भनाइ छ।