काठमाडौँ । वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीहरूलाई स्वदेशमा आवश्यक परामर्श तथा गन्तव्य मुलुकमा पुगेपछि अभिभावकीय सहयोग उपलब्ध गराउने उद्देश्यले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बिच सहकार्य गर्ने सम्झौता भएको छ। दुवै संस्थाले विद्यार्थीका समस्या न्यूनीकरण गर्दै सुरक्षित र व्यवस्थित वैदेशिक अध्ययनको वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। सम्झौता पत्रमा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले एनआरएनएसँगको सहकार्यले विदेशमा पुगेपछि विद्यार्थीहरूले भोग्नुपर्ने विविध समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान पु¥याउने बताए। विद्यार्थीहरूलाई गन्तव्य मुलुकमा पुगेपछि स्थानीय अभिभावकत्वको खाँचो पर्ने भएकाले एनआरएनएको विश्वव्यापी सञ्जालमार्फत सहयोग पु¥याउन सकिने उनको भनाइ थियो। यस्तै एनआरएनएका उपाध्यक्ष तथा विद्यार्थी सहयोग कमिटीका सभापति दिनेश पोखरेलले स्वदेशमा इक्यानमा आबद्ध संस्थाहरूले उचित परामर्श दिने र विदेश पुगेपछि एनआरएनएले अभिभावकीय भूमिका निर्वाह गर्ने गरी काम अघि बढाइने स्पष्ट पारे।
कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले नेपाली विद्यार्थीहरूले विदेश पुगेपछि काम खोज्ने, खाने–बस्ने प्रबन्ध मिलाउने र नयाँ वातावरणमा घुलमिल हुने क्रममा चुनौती भोग्ने गरेको उल्लेख गरे। विद्यार्थीहरूलाई विदेश जानुअघि नै एनआरएनएको कार्यालयबाट अभिमुखीकरण तथा परामर्श दिइने योजना रहेको जानकारी दिँदै उनले सम्बन्धित देशको शिक्षा प्रणाली, रोजगारीको अवस्था, कानुनी व्यवस्था, बसोबास, स्वास्थ्य र मानसिक स्वास्थ्यका विषयमा पूर्वजानकारी उपलब्ध गराइने बताए।
अध्यक्ष शर्माले वैदेशिक अध्ययनका क्रममा देखा पर्ने मानसिक तनाव र एक्लोपन सम्बोधन गर्न आवश्यक सहयोग पु¥याउनुपर्नेमा जोड दिएका छन्। साथै, अध्ययन पूरा गरी स्वदेश फर्किएका युवाहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा सदुपयोग गर्ने वातावरण बनाउन राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने धारणासमेत राखेका छन्। इक्यान र एनआरएनएबिचको यो सहकार्यले विदेश जाने विद्यार्थीको शैक्षिक यात्रालाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।